बिरगंजमा गोल्डेन हत्या प्रकरण: ‘खुनी दरिन्दे समूह’ले हत्या गरेको खुलासा, पाँच जना पक्राउ

२०८२ आश्विन १६, बिहीबार १७:४७

सर्लाही – वीरगन्जमा लागेको दशैं मेलाको अष्टमीको राति भएको विवादकै क्रममा एक युवकको ज्यान जाने घटनामा ‘खुनी दरिन्दे समूह’ नामक ग्याङ संलग्न रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पत्रकार सम्मेलन गर्दै २० वर्षीय शिवम कुमार साह कानु ‘गोल्डेन’को हत्या सो ग्याङका सदस्यहरूले मिलेर गरेको तथ्य सार्वजनिक गरेको हो।

प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार ती युवाहरूले “खुनी दरिन्दे समूह” नामक ह्वाट्सअप ग्रुपसमेत बनाई आपसी रिसइबीका कारण योजनाबद्ध रूपमा आक्रमण गरेका थिए। गत मंगलबार राति करिब ११:३० बजेतिर वीरगन्ज महानगरपालिका–१० स्थित गीतामन्दिर रोडमा दुई पक्षबीच भएको झगडामा बाराको परवानीपुर गाउँपालिका–९ घर भई वीरगन्जमै बस्दै आएका गोल्डेन गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल नारायणी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार ग्याङका सदस्यहरूले हातखुट्टा मात्र होइन, बाँसको भाटा प्रयोग गरेर समेत कुटपिट गरेका थिए। अनुसन्धानका क्रममा घटनाको मूल कारण यसअघि पनि दुई समूहबीच भएको झगडाको बदला रहेको पाइएको छ।

प्रहरीले घटनामा संलग्न मुख्य आरोपितसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज–२४ का १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमीरी पटेल (करण प्रसाद पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन्।

तीमध्ये तीन जनालाई मंगलबार राति घटनास्थलकै आसपासबाट नियन्त्रणमा लिइएको थियो भने बाँकी दुई जनालाई भारत बिहारको पश्चिमी चम्पारणस्थित बल्थर गाउँमा लुकेको अवस्थामा बुधबार पक्राउ गरिएको प्रहरीको भनाइ छ।

घटनापछि प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको ३२ जनाको टोलीले २४ घण्टाभित्रै मुख्य आरोपितहरूलाई पक्राउ गर्न सफल भएको एसपी पाठकले दाबी गरे। उनका अनुसार यस प्रकरणमा संलग्न अन्य केही व्यक्तिहरूको पनि पहिचान भइसकेको छ र उनीहरूको खोजी कार्य भइरहेको छ।

यो पनि पढ्नुहोस:
वीरगन्जमा ग्याङ फाइट: एक जनाको मृत्यु, तीन जना पक्राउ

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार