
सर्लाही – सर्लाहीको पश्चिमी भेगमा अवस्थित रामनगर गाउँपालिका – ३, बहुअर्वास्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको गढिमाई मन्दिरमा पुरातात्त्विक शैलिको मूल प्रवेशद्वार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
जिल्लामै प्रसिद्ध शक्तिपीठको रूपमा चिनिने गढिमाई मन्दिरमा पहिलो पटक प्रवेशद्वार निर्माण भइरहेको छ। सो प्रवेशद्वार निर्माणले मन्दिरको ऐतिहासिक महत्व थप उजागर हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नयाँ प्रवेशद्वारले श्रद्धालु भक्तजनलाई मन्दिरसम्म पुग्न सहज बनाउने मात्र होइन, मन्दिर परिसरको सुन्दरतालाई समेत अझ आकर्षक बनाएको स्थानीयहरु बताउँछन्। यसले गढिमाई मन्दिरलाई अझ व्यवस्थित र पर्यटकीय गन्तव्यको रूपमा चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।