मधेशसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

२०८२ आश्विन १८, शनिबार ०७:३०

सर्लाही – देशभर मनसुनको सक्रियता बढेसँगै आज र भोलि केही प्रदेशहरूमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावका कारण हाल देशभर सामान्यतया बदली रहँदै आएको छ। दिउँसोतर्फ कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, कोशी, मधेस, बागमती र गण्डकीका केही भूभाग र लुम्बिनीको तराई क्षेत्रमा भारी वर्षा समेत हुने देखिएको छ। महाशाखाले विशेषगरी मधेस, बागमती र गण्डकीका थोरै स्थानमा धेरै भारी वर्षा पर्न सक्ने चेतावनी दिएको छ।

आज राति पनि अधिकांश प्रदेशमा आकाश बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानहरूमा, लुम्बिनीका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही भागमा चट्याङसहित वर्षा पर्न सक्ने देखिएको छ।

यीमध्ये कोशी, मधेस, बागमती र गण्डकीका केही भूभागमा र लुम्बिनीको तराईका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना बलियो छ। महाशाखाले निरन्तर वर्षासँगै बाढी, पहिरो र जलमग्न हुने जोखिम बढ्ने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

साथै, पछिल्लो मौसमी सूचना लिएर मात्रै यात्रा वा अन्य गतिविधि सञ्चालन गर्न सरोकारवाला निकाय र नागरिकलाई आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार