मलंगवा – लगातार सक्रिय बनेको मनसुनका कारण बलरा नगरपालिका क्षेत्रमा बाढीको उच्च जोखिम देखिएको छ। नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म मधेश प्रदेशसहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
यसै क्रममा असोज १८ गते शनिबार बिहानदेखि बलरा लगायतका क्षेत्रमा वर्षा तीव्र बनेपछि नदीहरूको बहाव बढ्ने खतरा थपिएको हो। बलरा नगरपालिकाका प्रमुख रामाशंकर कुशवाहाले नगरवासीलाई उच्च सतर्क रहन आग्रह गरेका छन्। उनले वर्षासँगै वागमती नदीसहित स्थानीय नदीहरूको पानी बढ्दै गएकाले बाढीको जोखिम गम्भीर बनेको र त्यहाँ रहेकालाई सतर्कता अपनाउन आग्रह गरेका छन।

नगर प्रमुखले अनावश्यक रूपमा घरबाहिर ननिस्कन, राति तथा लामो दूरीको यात्रा नगर्न, बालबालिकालाई सुरक्षित स्थानमा राख्न, घरका सामानहरू सुरक्षित ठाउँमा सार्न र घरपरिवारका कम्तीमा एक सदस्य राति जाग्रम बस्न अनुरोध गरेका छन्। साथै, आकस्मिक अवस्थामा नगरपालिकासँग निरन्तर सम्पर्कमा रहन सबैलाई आह्वान गरिएको छ।
नगरपालिकाले स्वास्थ्य संस्था, कर्मचारी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, डोजर चालक लगायत सबैलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। आकस्मिक अवस्थामा तुरुन्त सम्पर्क गर्न नगरपालिकाले आपतकालीन सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।
नगर प्रमुख रामाशंकर कुशवाहा ९८५१२३४४७१ वा ९८४५०९४४५५, नगर उपप्रमुख कोशिला दास ९८४४०३३५७१, नगर अस्पताल प्रमुख राजेश महतो ९८४४१३८९९५ मा बलराबासीलाई बाढीको जोखिम उच्च लागेमा वा कुनै कठिनाइ भएमा तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ। गत बर्ष यस पालिकाका बिभिन्न बस्तीहरु डुबानमा परेका थिए।





