आज रातिदेखि अति भारी वर्षा हुने, सर्लाहीसहित यी ४० जिल्लामा छ उच्च जोखिम

२०८२ आश्विन १८, शनिबार १४:२४
फाइल फोटो

सर्लाही – गए रातिदेखि सुरु भएको वर्षा आज रातिबाट अझै तीव्र हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज राति १० बजेदेखि भोलि बिहान २ बजेसम्म अति भारी वर्षा हुने सम्भावना छ, जसले देशका करिब ४० जिल्लामा ठूलो असर पार्ने अनुमान गरिएको छ ।

बाढी, पहिरो र डुबानको जोखिम बढेका कारण विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रभावित हुने सूचीमा काठमाडौं उपत्यका पनि समावेश छ । त्यस्तै, बागमती प्रदेशका मकवानपुर, सिन्धुली, चितवन, रामेछाप, सिन्धुपालाञ्चोक, काभ्रे र दोलखा उच्च जोखिममा छन् ।

मधेश प्रदेशतर्फ महोत्तरी, पर्सा, रौतहट, बारा, सर्लाही, धनुषा, सप्तरी र सिरहामा समेत प्रभाव पर्ने अनुमान गरिएको छ । कोशी प्रदेशका उदयपुर र सुनसरीमा पनि भारी वर्षा हुने सम्भावना छ । पूर्वका इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङमा उच्च जोखिम देखिएको छ ।

रसुवा, नुवाकोट, धादिङसँगै गोरखा, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही र कपिलवस्तुमा पनि बाढीपहिरोको सम्भावना प्रबल रहेको विभागले जनाएको छ । त्यसैगरी कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके र बर्दिया मध्यम जोखिममा सूचीकृत छन् ।

हाल कोशी प्रदेशदेखि गण्डकी प्रदेशको पूर्वी भूभागसम्म वर्षा भइरहेको छ । मेघगर्जन र चट्याङसहित भइरहेको वर्षा अझै केही दिन जारी रहने अनुमान विभागले गरेको छ । पूर्व–उत्तरपूर्वतर्फ सरिरहेको मौसमी प्रणालीका कारण प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन विभागले विशेष आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार