
सर्लाही – सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । जल मापन केन्द्रको तथ्याङ्क अनुसार यहाँ पछिल्लो २४ घण्टामा २२३।६ मिलिमिटर वर्षा मापन गरिएको हो ।
लगातारको भारी वर्षा भएपछि साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा समेत पानीको सतह बढेको छ । पानी पर्ने क्रम अझै नरोकिने भएकाले वर्षाको पानीले समेत जिल्लाका विभिन्न स्थानमा बाढी र डुबान बनाउन सक्ने चिन्तामा स्थानीय छन् ।

यस्तै, जिल्ला सदरमुकाम मलङ्गवा क्षेत्रमा २१५।४ मिलिमिटर वर्षा मापन भएको छ । योसँगै जिल्लामा स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सूचना जारी गर्दै होचो स्थानमा रहेका र बागमती, लखन्देही, झिम, बाँकेलगायत खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित रहन सचेत गराएको छ।
यस्तै पानीको सतह बढेसँगै बागमती सिँचाइ ब्यारेजको ३५ वटै ढोका खोलिएको छ ।