मधेसमा विपद्पीडितलाई बिमा कार्यक्रम

२०८२ आश्विन १९, आईतवार १२:५३

सर्लाही – मधेस प्रदेश सरकारले प्राकृतिक विपद्‌मा प्रभावित नागरिकलाई लक्षित गर्दै बीमा कार्यक्रम सार्वजनिक गरेको छ।

प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले सामाजिक सञ्जालमार्फत कार्यक्रमको घोषणा गर्दै बाढी र डुबानलगायत विपद्‌बाट घर परिवारमा भएको क्षतिपूर्तिका लागि बीमा योजना ल्याइएको जानकारी दिए।

मन्त्री जयसवालका अनुसार घर परिवारमा भौतिक क्षति पुगेका पीडितलाई एक लाखदेखि पाँच लाख २५ हजार रुपैयाँसम्म बीमा रकम उपलब्ध गराइनेछ भने मानवीय क्षति भोगेका परिवारलाई १० लाख रुपैयाँसम्मको सहयोग प्रदान गरिनेछ।

“हाम्रो मन्त्रालयबाट सुरु गरिएको यो बीमा योजनाको जानकारी प्रत्येक प्रभावित परिवारसम्म पुर्‍याई प्रक्रिया अगाडि बढाऔं,” मन्त्री जयसवालले लेखेका छन्, “उद्धार र राहत कार्यमा सबै मिलेर जुट्न आवश्यक छ।”

उनले प्रदेश सरकार विपद् व्यवस्थापनमा सक्रिय रहेको उल्लेख गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका काममा स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको पनि जानकारी दिए। मुसलधारे वर्षासँगै मधेस प्रदेशमा सयौं परिवार बाढी र डुबानबाट विस्थापित र प्रभावित भएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार