
सर्लाही – सिराहा जिल्लाको कल्याणपुर नगरपालिका – ८ मा एक दलित समुदायको बस्तीमा तोडफोड र लुटपाट भएको घटनामा संलग्न रहेको आरोपमा वडाध्यक्षसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष रामकिशोर यादवले नेतृत्व गरेको समूहले स्थानीय शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानका घरहरूमा हमला गरेको पीडित पक्षको भनाइ छ।

घटना गत शुक्रबार भएको बताइएको छ। तोडफोडमा संलग्न रहेको भन्दै पीडित परिवारले वडाध्यक्ष यादवसहित १३ जनाविरुद्ध उजुरी दिएपछि प्रहरीले अनुसन्धान प्रारम्भ गरेको हो।
सिराहा प्रहरीले हालसम्म वडाध्यक्ष यादवसहित चार जनालाई नियन्त्रणमा लिएको र बाँकी अभियुक्तहरूको खोजी जारी रहेको जानकारी दिएको छ।