
सर्लाही – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका – ५, सखुवा महेन्द्रनगरस्थित दुधमती एफ.एम. १०४ मेगाहर्जका सञ्चालक तथा पत्रकार अनिल कुशवाहामाथि प्रहरीद्वारा दुर्ब्यबहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
असोज १३ गते एफएममा प्रत्यक्ष प्रशारण भइरहेको बेला ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक राजाराम यादव स्वयं एफएम कार्यालयमै प्रवेश गरी प्रशारण अवरुद्ध गराएको आरोप लागेको छ।

त्यस क्रममा यादवले पत्रकार कुशवाहालाई कार्यालयमै लगेर गालीगलौज गर्दै अपमानजनक व्यवहार गर्ने मात्र नभई थुन्ने धम्की दिएका थिए। पत्रकार कुशवाहाका अनुसार एक स्थानीय व्यवसायीको भनाइ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको निहुँमा आफूमाथि प्रहरी ज्यादती भएको हो।
उनले प्रहरीको यस्तो कदम प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार भएको बताउँदै निष्पक्ष छानबिन गरी संलग्न प्रहरी अधिकारीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेका छन्।
यस्तै, नेपाल पत्रकार महासंघ मधेश प्रधेश, नेपाल पत्रकार महासंघ धनुषा शाखाले पनि पत्रकारलाई धम्की, दुर्ब्यबहार र प्रशारण अवरोध गर्नु अस्वीकार्य भएको भन्दै घटनाको छानबिन गरी दोषीमाथि तत्काल कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
पत्रकार महासंघले पत्रकारितामाथि हुने यस्ता हस्तक्षेप प्रेस स्वतन्त्रताको उल्लङ्घन भएको भन्दै भविष्यमा पुनः यस्ता घटना नदोहोऱ्याउने ग्यारेन्टी गर्न पनि माग गरेको छ।