बाढी, डुबान र चट्याङले मधेशमा ८ जनाको मृत्यु, दुई जना बेपत्ता

२०८२ आश्विन २०, सोमबार २०:५५
कोडैना गाउँपालिकास्थित फुलपरासीदेखि सदरमुकाम मलंगवा‌मातर्फ जाने हुलाकी सडकखण्डमा आएको बाढी

सर्लाही – मधेश प्रदेश लगातारको वर्षाले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नु परेको छ । मधेश प्रदेश प्रहरीका अनुसार शुक्रबार रातिदेखि आइतबार बिहानसम्म परेको अविरल वर्षासँगै आएको बाढी, डुबान र चट्याङका कारण आठ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन् ।

रौतहटमा मात्रै पाँच जनाको मृत्यु भएको छ। जिल्लाको राजपुर नगरपालिका – ८ का १० वर्षीय अरबाज मियाको लालबकैया नदीमा नुहाउने क्रममा बगेर मृत्यु भयो । खोजतलासका क्रममा सोमबार दिउँसो उनको शव फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी, ईशनाथ नगरपालिका – ८ का शेख जमरुल, कटहरिया नगरपालिका – २ का १६ वर्षीय शेराज लहरी र नवीन यादवको चट्याङ लागेर मृत्यु भएको छ।

माधवनारायण नगरपालिका – २ की ७५ वर्षीया पनवादेवीले भने बाढी आएको बेला बागमती नदीमा दाउरा टिप्ने क्रममा डुबेर ज्यान गुमाईन। धनुषा, सर्लाही र रौतहटमा वेवारिसे शव भेटिएको छ भने बारा प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय बिक्की गिरी टिकटक बनाउन दुधौरा खोलामा हाम फालेर बेपत्ता भएका छन् ।

उनको खोजतलास गर्दा नभेटिएपछि अहिले खोजतलास स्थगित भएको प्रहरीले जनाएको छ । प्रदेशका आठ वटा जिल्लामा अविरल वर्षाले ४० घरमा पूर्णरूपमा क्षति भएको छ भने बाढी, डुबानका कारण ८ हजार भन्दा बढी परिवार विस्थापित भएका छन् भने ५२ वटा चौपाया मरेका छन्।

प्रहरी प्रवक्ता एसएसपी कमल थापाले प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गर्दै भने, “अझै क्षतिको तथ्यांक संकलन भइरहेका छन् । उद्धार कार्य सकिएपछि अहिले राहत वितरणमा प्राथमिकता दिइएको छ।” वर्षा रोकिए पनि प्रभावित क्षेत्रमा अझै डुबान हटिसकेको छैन । उद्धार टोली स्थानीय निकाय र संघ संस्थासँग समन्वय गरेर विस्थापित परिवारलाई सुरक्षित स्थानमा राख्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार