जनकपुरधाममा कोजाग्रत पूर्णिमा विशेष: जानकी मन्दिरमा अर्पण गरियो १०१ कोसेली

२०८२ आश्विन २१, मंगलवार १६:२८

सर्लाही – कोजाग्रत पूर्णिमाको अवसरमा आज जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा १०१ कोसेली (भार) अर्पण गरिएको छ। महोत्तरीको रतौली गाउँबाट परम्परागत रूपमा ल्याइने १०१ कोसेली यस वर्ष पनि भव्य रुपमा मन्दिरमा अर्पण गरिएको हो।

सयौँ वर्षदेखि निरन्तर चलिआएको यो धार्मिक परम्परा मिथिला संस्कृतिको अभिन्न अंग बनेको छ। जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामारोशन दास वैष्णवका अनुसार रतौलीवासीले पूजा सामग्री, खाद्यवस्तु, कपडा र देवी देवताका लागि उपयुक्त कोसेलीसहितको भार जानकी र रामको पूजामा समर्पित गरेका हुन्।

हिन्दू धर्मअनुसार कोजाग्रत पूर्णिमा धन र समृद्धिकी देवी लक्ष्मीको आराधनासँग सम्बन्धित विशेष रात हो। विश्वास गरिन्छ, आजको रात देवी लक्ष्मी जाग्राम बसेका भक्तजनमाथि धन र समृद्धिको वर्षा गर्छिन्। त्यसैले यो रातलाई ‘अमृत वर्षा’ रातका रूपमा लिने गरिन्छ।

रतौलीका स्व. महेन्द्रप्रसाद ठाकुरको घरबाट प्रारम्भ भएको कोसेली ल्याउने परम्परा सयौँ वर्ष पुरानो हो। उक्त भारबाट जानकी मन्दिरमा भगवान् सीतारामको ‘चुमाओन’ गरिन्छ, जसलाई आशीर्वाद र श्रद्धाको प्रतीक मानिन्छ।

भारमा पान, मखान, फलफूल, दही, मिठाई, सौँफ, मुमफली, तरकारी, चामल, दाल लगायतका सामग्रीका साथै भगवान् राम र माता जानकीका लागि कपडा समेत राखिन्छ। परम्पराअनुसार बेहुली पक्षले बेहुला पक्षका परिवारका सबै सदस्यका लागि कपडा र कोसेली पठाउने गर्छ।

चुमाओन विधिमा पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलाको टाउकोदेखि खुट्टासम्म पाँच प्रमुख स्थानमा पूजा गरी आशीर्वाद दिने चलन छ। त्यसपछि सामूहिक भोजको आयोजना गरिन्छ, जहाँ मिठाई, मखन र पान अनिवार्य रूपमा बाँडिन्छ। यस अवसरमा मिथिला संस्कृतिको अर्को मनोरञ्जनात्मक अंश ‘पचिसी’ खेल पनि खेलिन्छ, जसमा बेहुला र बेहुली पक्षबीच प्रतिस्पर्धा हुने गर्छ।

कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिर परिसरमा यस वर्ष पनि विशेष धार्मिक महोत्सवको आयोजना गरिएको छ। मन्दिर परिसरमा भजन, कीर्तन, हास्य, परिहास र सांस्कृतिक कार्यक्रमले वातावरण झनै उल्लासपूर्ण बनेको छ।

महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार मिथिलानीहरूले आफ्नो ज्वाइँका लागि पनि कोसेली पठाउने प्रथा विगत ११५ वर्षदेखि निरन्तर चल्दै आएको छ। यस परम्पराले मिथिला क्षेत्रको सामाजिक, धार्मिक र पारिवारिक एकता झनै मजबुत बनाउँदै आएको उनले बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार