बिरगंजमा गोल्डेन हत्या प्रकरण: ‘खुनी दरिन्दे समूह’का गिरी पक्राउ

२०८२ आश्विन २१, मंगलवार १९:००

सर्लाही – पर्साको वीरगञ्जमा दसैँ मेलामा अष्टमीको राति भएको कुटपिट र हत्याकाण्डमा संलग्न ‘खुनी दरिन्दे समूह’का थप एक सदस्यलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पकहाँमैनपुर गाउँपालिका – १ धोरे स्थायी घर भई वीरगञ्जमा बस्दै आएका १६ वर्षीय अंशु गिरी रहेका छन्।

घटना लगत्तै फरार भएका गिरीलाई भारतमा लुकेर बसेको अवस्थामा मङ्गलवार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको पर्सा प्रहरीले जनाएको छ। यसअघि असोज १५ गते यसै प्रकरणमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी असोज १६ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो।

पक्राउ परेका अन्य अभियुक्तहरूमा वीरगञ्ज महानगरपालिका – २४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमीरी पटेल (करण प्रसाद पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन्।

घटना वीरगञ्ज – १० गीता मन्दिर रोड नजिक दसैँ मेलामा मंगलबार राति ११:३० बजे भएको थियो। मेला घुम्न गएका युवाहरूबीच विवाद र कुटपिट हुँदा बाराको परवानीपुर गाउँपालिका–९ स्थायी घर भई वीरगञ्ज–१० मा बस्दै आएका २० वर्षीय शिवम साह कानु (उर्फ गोल्डेन) गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्याईए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकका अनुसार हत्यामा संलग्न युवाहरूले ‘खुनी दरिन्दे समूह’ नामक ह्वाट्सएप ग्रुप बनाएर आपराधिक गतिविधि सञ्चालन गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानले पुरानो रिसिइबी र आफूलाई ‘ग्याङ्स्टर’का रूपमा प्रस्तुत गर्ने उद्देश्यले घटना घटाएको देखिएको एसपी पाठकले जानकारी दिए।

उनका अनुसार मृतक गोल्डेन र विपक्षी समूहबीच यसअघि पनि विवाद भएको थियो। घटना भएको रात प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा ३२ जनाको टोलीले सिसिटिभी फुटेज, भिडियो रेकर्ड र सीडीआर विश्लेषणको आधारमा तीन अभियुक्तलाई तत्काल पक्राउ गरेको थियो।

बाँकी दुई जनालाई भारतको पश्चिमी चम्पारणको बल्थर गाउँबाट नियन्त्रणमा लिइएको थियो। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान भइसकेको र उनीहरूको खोजतलास जारी रहेको प्रहरीले बताए। प्रविधिको प्रयोगमार्फत अनुसन्धानलाई तीव्र बनाइएको छ र दोषीहरूलाई कडा कारबाही गरिने एसपी पाठकले बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार