बिरगंजको एक होटलमा भारतीय बुवा छोरा मृत फेला

२०८२ आश्विन २२, बुधबार ०८:४३

सर्लाही – पर्साको वीरगन्जस्थित नयाँ बसपार्क नजिकैको भानुचोकमा रहेको होटल शाह पाराडाइजको एक कोठामा भारतका बुवा छोरा मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार मंगलबार साँझ होटलको कोठा नम्बर १११ मा भारतको त्रिपुराका ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य मृत अवस्थामा फेला परेका हुन्।

असोज १९ गतेदेखि उक्त कोठामा बस्दै आएका उनीहरू मंगलबार बेलुकी ७ बजेसम्म पनि खाना खान नआएपछि होटलका कर्मचारी बोलाउन पुगेका थिए। तर कोठा भित्रबाट ताला लगाइएको र ढकढकाउँदा पनि ढोका नखुलेपछि कर्मचारीले छेउको कोठाको भेन्टिलेटरबाट हेर्दा बुवा छोरा दुबै जना मृत अवस्थामा रहेको देखेको बताईएको छ।

त्यसपछि प्रहरीलाई खबर गरेको र प्रहरी टोली घटनास्थल पुगेको डीएसपी लम्सालले बताए। उनका अनुसार भेन्टिलेटरबाट हेर्दा पिता सजल ओछ्यानमै र छोरा सागर झुन्डिएको अवस्थामा देखिएको थियो।

राति ढोका नफोडी प्रहरीको उपस्थितिमा बुधबार बिहान शव निकाल्ने तयारी गरिएको प्रहरीले जनाएको छ। घटनाबारे वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासलाई समेत जानकारी दिइएको छ। घटना बारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार