सर्लाहीमा बाढीले बगाएको हुलाकी सडकखण्डमा बनाइयो डाइभर्सन, सवारी सञ्चालन सुरू

२०८२ आश्विन २३, बिहीबार १७:४६

मलंगवा – अविरल वर्षासँगै आएको बाढीले बगाएर अवरुद्ध बनेको सर्लाहीको कौडेना गाउँपालिका – ३ स्थित हुलाकी सडकमा अस्थायी डाइभर्सन निर्माण भएपछि आज (बिहीबार) बिहानदेखि सवारी सञ्चालन सुरू भएको छ।

गत शनिबार राति परेको भारि वर्षाले लखन्देही खोलामा आएको बाढीले कौडेना गाउँपालिका – ३, पर्सा गाउँ नजिक करिब १५० मिटर पक्की सडक बगाएको थियो। त्यसपछि सर्लाहीको दक्षिण – पश्चिम भेग सदरमुकाम मलंगवासँग जोड्ने यो मुख्य सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र कौडेना गाउँपालिकाको समन्वयमा दुई दिनदेखि निरन्तर काम गरेर अस्थायी डाइभर्सन तयार पारिएको हो। अहिले सडक ‘वान वे’ अर्थात् एक पटकमा एक मात्र चार पाङ्ग्रे सवारी वारपार गर्न मिल्ने गरी डाइभर्सन बनाइएको छ।

यसअघि स्थानीय युवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सुरक्षाकर्मीहरूले मिलेर बाँस र पटाको लच्का निर्माण गरी पैदलयात्रु, साइकल र मोटरसाइकल वारपार गर्न व्यवस्था मिलाएका थिए। प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार सो लच्काको ठाउँमै अहिले अस्थायी डाइभर्सन बनाइएको हो।

बजेट अभावका कारण तत्कालै कलभर्ट निर्माणको काम सुरु गर्न भने समस्या रहेको पालिकाले बताएको छ। सडक सञ्चालनमा आएपछि सर्लाहीको दक्षिण – पश्चिम क्षेत्रका बासिन्दा तथा व्यापारीहरूले राहत महसुस गरेका छन्। स्थानीयका अनुसार अस्थायी भए पनि सडक खुल्नासाथ जनजीवन सहज बनेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार