सरकारको कडाइ: ओली, देउवा, प्रचण्डलगायतको मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी फिर्ता

२०८२ आश्विन २३, बिहीबार २०:२४

सर्लाही – सरकारले मापदण्ड भन्दा बढी सुरक्षाकर्मी प्रयोग गर्दै आएका पूर्वप्रधानमन्त्रीहरू र अन्य पूर्वपदाधिकारीहरूका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको छ।

गृह मन्त्रालयको निर्देशन अनुसार केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई लगायतका सबै पूर्वप्रधानमन्त्री र पदाधिकारीहरूले पाएका मापदण्डबाहेकका सुरक्षाकर्मीहरू तत्काल फिर्ता गर्न सम्बन्धित निकायलाई आदेश दिइएको हो।

गृह मन्त्रालय स्रोतका अनुसार यो निर्णय केवल पूर्वपदाधिकारीहरूमा सीमित नरही, हाल कार्यरत पदाधिकारीहरूमा समेत लागू हुने गरी व्यवस्था गरिएको छ। प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताएअनुसार मन्त्रालयको सर्कुलरअनुसार शुक्रबार बिहानसम्ममा सबै मापदण्ड विपरीत परिचालित सुरक्षाकर्मीहरू फिर्ता भइसकेका वा फिर्ता हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

हालसम्म अधिकांश पूर्वप्रधानमन्त्रीहरू मापदण्डभन्दा बढी सुरक्षा सुविधा लिँदै आएका थिए। सरकारले सुरक्षामा देखिएको असमानता र दुरुपयोग रोक्ने उद्देश्यले यो निर्णय गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार