बारामा टिकटक भिडियो बनाउन खोलामा हामफाल्दा बेपत्ता भएका युवकको शव भेटियो

२०८२ आश्विन २४, शुक्रबार ११:३७
file image

सर्लाही – टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेका बारा प्रसौनी – २ का २१ वर्षीय बिक्की गोसाईंको शव फेला परेको छ। असोज १९ गतेदेखि बेपत्ता भएका उनको शव शुक्रबार बिहान फेटा गाउँपालिका – १ त्रिवेणी खोलामा फेला परेको हो।

प्रहरीका अनुसार गोसाईं टिकटक भिडियो बनाउन भन्दै साथीहरुसहित दुधौरा खोलामा हामफालेका थिए। तर, उनका साथी पौडेर किनारमा निस्किए पनि गोसाईं भने खोलाको वेगमा बगेर बेपत्ता भएका थिए।

शुक्रबार बिहान खोलाको बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शवको पहिचान गर्ने क्रममा उक्त शव बिक्की गोसाईंकै रहेको खुल्न आएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार