सर्लाही – सर्लाहीको बसबरिया गाउँपालिकाको बजेट यस पटक पनि गाउँसभा बैठकबाट पारित हुन सकेन। चालू आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट पारित गर्ने उद्देश्यले बिहीबार बसेको गाउँसभा बैठक सहमति हुन् नसकेपछि निष्कर्षविहीन बनेको हो।
गाउँपालिका अध्यक्ष रामसिंहासन राय र उपाध्यक्ष सरिता कुमारीबीच बजेटको बाँडफाँडमा सहमति नजुटेपछि बैठक स्थगित गरिएको गाउँसभा सदस्यहरूले जानकारी दिएका छन्।

बसबरियामा जसपाबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष दुबै रहेका छन्। तर पार्टीभित्रको गुटबन्दीले उनीहरू फरक धारमा लागेपछि त्यसको प्रत्यक्ष प्रभाव गाउँपालिकाको बजेट प्रक्रियामा परेको छ।
गाउँपालिका अध्यक्ष रामसिंहासन रायका अनुसार सहमति जुटाउन शुक्रबार पुनः बैठक बस्ने तय भएको थियो, बिहीबार राति कविलासी नगरपालिकास्थित सलेमपुरमा जनता समाजवादी पार्टी (जसपा) का दुई गुटबीच भएको विवादपछि जनप्रतिनिधि त्यही घटनामा केन्द्रीत भएपछि बैठक बस्नै नसकेको हो।
यस अघि पनि गाउँसभा बैठक बोलाई बजेट पारित गर्ने प्रयास गर्दा उपाध्यक्ष सरिता कुमारीको उजुरीका आधारमा उच्च अदालत जनकपुरले बैठक स्थगित गर्न आदेश दिएको थियो।
नयाँ आर्थिक वर्ष सुरु भएको तीन महिना नाघ्दासमेत बजेट पारित नहुँदा गाउँपालिकाका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी र लाभग्राही तलब भत्ताविहीन भएका छन्। दशैंको समयमा पनि तलब पाउनन नसकेपछि उनीहरू निराश बनेका छन्।
अब पनि बजेट पारित नहुने अवस्था रहिरहे तिहार र छठ पर्वमा समेत आर्थिक संकट थपिने चिन्ता स्थानीय र कर्मचारीले व्यक्त गरेका छन्। जनप्रतिनिधिबीचको निरन्तर टकरावका कारण गाउँपालिकामा विकास तथा निर्माणका काम ठप्प भएको स्थानीयवासीको गुनासो छ।





