मधेश प्रदेश सभा बैठक असोज २८ गते बस्ने, मुख्यमन्त्री सिंहले विश्वासको मत लिने

२०८२ आश्विन २५, शनिबार १८:२९

सर्लाही – मधेश प्रदेश सभा बैठक आगामी असोज २८ गते बस्ने भएको छ। सभामुख रामचन्द्र मण्डलले असोज २८ गते दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरेका हुन्।

प्रदेशसभा सचिवालयका अनुसार उक्त बैठकमा मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने तयारी गरेका छन्। सिंह अहिले अल्पमतमा परेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीले मिलेर नयाँ सरकार गठनका लागि ५८ जना प्रदेशसभा सदस्यको समर्थन पत्र प्रदेश प्रमुखसमक्ष बुझाइसकेका छन्।

प्रदेशमा सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ। जनमत पार्टीकै तर्फबाट मुख्यमन्त्री बनेका सिंहलाई पार्टीले केही समयअघि पदबाट राजीनामा दिन निर्देशन दिएको थियो। सो निर्देशनपछि उनले फेसबुकमार्फत राजीनामा घोषणा गरे पनि पछि उक्त राजीनामा मान्य नहुने भन्दै आफू पदमै रहेको दाबी गरेका थिए।

त्यसपछि जनमत पार्टीले सिंहलाई औपचारिक रूपमा फिर्ता बोलाउने निर्णय गर्दै निवेदन प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराएको थियो। यसैबिंच अहिले कांग्रेस र एमालेले जनमत पार्टीकै केही असन्तुष्ट सांसदसँग सहकार्य गर्दै नयाँ सरकार बनाउन लागि परेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार