रौतहटमा जग्गा विवादले लियो ज्यान: एकको मृत्यु, एक घाइते

२०८२ आश्विन २६, आईतवार १९:५२

सर्लाही – रौतहटको फतुवा विजयपुर नगरपालिका – २ शीतलपुरमा आइतबार जग्गा विवादले उग्र रूप लिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय शंकर शाह बनियाँ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आइतबार बिहान करिब १० बजेतिर शाह र ४० वर्षीय कपिलदेव यादव पक्षबीच जग्गा स्वामित्वको विषयमा विवाद चर्किएर झडपमा परिणत भएको थियो ।

कुटपिटका क्रममा शंकर शाह गम्भीर रूपमा घाइते भएका थिए भने कपिलदेव यादवकी श्रीमती ४० वर्षीया मीना देवी यादव पनि घाइते भएकी छन् । मीना देवीलाई मध्यम चोट लागेकाले उपचारका लागि एल.एस. न्युरो अस्पताल बिरगंज पठाइएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते शाहलाई जिल्ला अस्पताल गौर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। कुटपिटमा हरिदेव यादव, सुरेन्द्र यादव र एक अन्य व्यक्ति संलग्न रहेको देखिएको छ प्रहरीले जनाएको छ। ती सबै हाल फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीको भनाइ छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार