सर्लाही – रौतहटमा पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। जिल्लाको गौर नगरपालिका – १, कानुपट्टीस्थित भित्री सडकखण्डमा सोमबार बिहान पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको हो। सोही घटनामा चार बालिका भने पौडी खेल्दै ज्यान जोगाउन सफल भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार मृत्यु हुनेमा इन्दल बैठाकी १३ वर्षीया आस्था कुमारी बैठा, नवल यादवकी १५ वर्षीया रजनी कुमारी यादव र रूपा बैठाकी १५ वर्षीया मौसमी कुमारी बैठा छन्।

जिल्लाको राजदेवी नगरपालिका – ८, लक्ष्मीपुर टोलकी सात जना बालिकाहरू बिहान करिब पौने ११ बजे घाँस काट्न गौरतर्फ जाँदै गर्दा बाटोमा बाढीको पानी जमेको खाल्डोमा तैरिँदै खेल्ने क्रममा घटना भएको हो।
उनीहरूमध्ये चार जना सकुशल तैरिन सफल भए भने तीन जना गहिरो पानीमा डुबेर बेपत्ता भएका थिए। बेपत्ता बालिकाहरूको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र वीरदल गणका टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी निरीक्षक गोपाल सहनी, जिल्ला प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनी, सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरे र मेजरको नेतृत्वमा रहेको टोलीले करिब पौने १२ बजे ती तीनै बालिकालाई उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्याएको थियो।
अस्पतालमा उपचारका क्रममा करिब १२ बजेर ९ मिनेटमा चिकित्सकहरूले ईसीजी परीक्षणपछि तिनै बालिकालाई मृत घोषित गरेका थिए। यस्तै, सकुशल रहेका बालिकाहरूमा १५ वर्षीया मुस्कान कुमारी राम, १३ वर्षीया मुस्कान कुमारी बैठा, १० वर्षीया चन्द्रमुखी कुमारी राम र १५ वर्षीया सुनिता कुमारी बैठा रहेका छन्।





