सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकामा सडक निर्माण कार्यमा अनियमितता भएको ठहर गर्दै सात जना कर्मचारी र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार भेरी नगरपालिकाको कारागार–रानागाउँ–नेटीबजार सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी नियमविपरीत ठेक्का प्रदान गरिएको प्रमाणित भएपछि मुद्दा दायर गरिएको हो।

भ्रष्टाचार प्रकरणमा संलग्न ठहर गरिएकामध्ये तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, सामाजिक विकास अधिकृत अनिश शाह, कानुन अधिकृत प्रकाश कुमार शाही, लेखापाल राजेन्द्र बहादुर कठायत र नायब सुब्बा कृति बहादुर थापा रहेका छन्।
त्यसैगरी, ठेक्का पाउने थापा/सविन/सुदर्शन जे.भी. (खलगां–४, जाजरकोट) र उक्त संयुक्त कम्पनीका आधिकारिक प्रतिनिधि तथा थापा निर्माण सेवाका सञ्चालक दिप बहादुर खत्रीमाथि पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
आयोगले यस प्रकरणमा करिब ८१ लाख ५३ हजार ६३० रुपैयाँ बिगो कायम गरी सम्पूर्ण आरोपितविरुद्ध कानूनी कारबाहीको माग गरेको छ।





