संविधान पुनर्लेखन गरी जनताबाटै निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था ल्याउनुपर्छ – उपेन्द्र यादव

२०८२ आश्विन २७, सोमबार २०:२६
file image

सर्लाही – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अब नेपालको संविधान पुनर्लेखन गरेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

सोमबार जनकपुरधाममा सुरु भएको जसपा मधेस प्रदेशको एकता पश्चातको पहिलो अधिवेशन उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री यादवले अहिलेको व्यवस्था अस्थिरता र भ्रष्टाचारतर्फ अग्रसर भइरहेको टिप्पणी गरे।

उनले भने, “जनताबाट निर्वाचित सरकार प्रमुख हुँदा सरकार प्रमुख जनताबाट चुनिए पनि राष्ट्रप्रमुख औपचारिक हुँदा सन्तुलन बिग्रिन्छ। त्यसैले अब देशमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली ल्याउने समय आएको छ।”

यादवका अनुसार जनताबाटै निर्वाचित कार्यकारी राष्ट्रप्रमुख भए सांसद किनबेचको प्रवृत्ति अन्त्य भई राजनीतिक स्थायित्व कायम हुनेछ। उनले अहिलेको निर्वाचन प्रणालीलाई “खिचडी प्रणाली” भन्दै आलोचना गरे र पूर्ण समानुपातिक प्रणाली अवलम्बन गर्न सुझाव दिए।

उनले भने, “दुनियाका ७१ देशमा पूर्ण समानुपातिक प्रणाली लागू छ, जसमा उम्मेदवार र दलले पैसा खर्च गर्नुपर्दैन। हाम्रो देशमा भने ठूला दलहरूले जनताको मत होइन, पैसाको बलमा शासन गरिरहेका छन्।”

तीन दशकभन्दा बढी समयदेखि कांग्रेस र कम्युनिष्ट दलहरूले पालैपालो सत्तामा बसेर देश लुटेको आरोप लगाउँदै यादवले भने, “ज्योतिषी देखाएर पटक–पटक प्रधानमन्त्री बनेका नेताहरूले जनताको भाग्य होइन, देशको दुर्भाग्य लेखेका छन्।”

सुन काण्ड, ओम्नी काण्ड, भुटानी शरणार्थी काण्ड र ललिता निवास काण्ड जस्ता भ्रष्टाचारका घटनाले युवाहरूमा गहिरो आक्रोश पैदा भएको उल्लेख गर्दै उनले चेतावनी दिए, “अब त्यो आक्रोश सामाजिक सञ्जालको सीमामा बाँधिन सक्दैन, विद्रोहमा परिणत हुँदैछ।”

यादवले वर्तमान राजनीतिक अवस्थालाई “अनिश्चितता र अन्योलको चक्र” भन्दै चुनावी माहोल नै हराइसकेको टिप्पणी गरे। उनले संविधानअनुसार सरकार वा संसद् विघटनको सम्भावना नभएको र देशलाई नयाँ राजनीतिक दिशाको आवश्यकता रहेको बताए।

सो अवसरमा जसपा मधेस प्रदेशका अध्यक्ष बालकिशोर यादवले पार्टीमा हालसम्म ८८ हजार ४ सय सदस्यले नवीकरण गरेको जानकारी दिए। उनले पुनः प्रदेश अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरे भने युवा नेता योगेन्द्र राय यादवले पनि सोही पदमा दावेदारी गर्ने घोषणा गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार