यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११:३९ बजे

२०८२ आश्विन २८, मंगलवार १२:४८

सर्लाही – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार यो वर्ष भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे परेको छ।

समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार साइत खोज्नेका लागि उक्त समयमा धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तको मेल हुने भएकाले यो समय अत्यन्त शुभ मानिएको हो। उनका अनुसार, “राज्यका प्रमुखहरूले साइतमै टीका लगाउनुपर्ने चलन भए पनि सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउँदा कुनै समस्या हुँदैन।”

यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुने समितिले जनाएको छ। त्यसै दिनदेखि यमदीप दान आरम्भ हुनेछ। सोही दिन धनतेरस र धन त्रयोदशी पर्व पनि परेको उल्लेख समितिले स्वीकृति दिएको पात्रोमा गरिएको छ।

कात्तिक २ गते आइतबार काग तिहार मनाइनेछ, जुन दिन धन्वन्तरी जयन्ती पनि पर्छ। त्यसपछिको दिन कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार मनाइनेछ भने बेलुकी लक्ष्मीपूजा र दीपमालिका गरिनेछ। समितिका अनुसार, सोही दिन दिउँसो २:५२ बजेसम्म कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले साँझ औँसीको बेला लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ। स्नान र दान भने कात्तिक ४ गते बिहान गर्नुपर्नेछ, जस दिन दिउँसो ४:२९ बजेसम्म औँसी तिथि रहन्छ।

कात्तिक ५ गते बुधबार गाईपूजा, गोरूपूजा र आत्म (म्ह) पूजा गरिनेछ। शास्त्रीय ग्रन्थ ‘कृत्यवाटिका’ मा आत्मपूजा प्रतिपदाको सायंकालमा गर्नुपर्ने उल्लेख छ। आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा हो। सोही दिन नेपाल संवत् ११४६ को नयाँ वर्ष पनि मनाइने समितिले जनाएको छ। प्रतिपदाका दिन सूर्योदयसँगै नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताए।

शास्त्रीय विधिअनुसार भाइपूजा (किजा पूजा) र भाइटीका कात्तिक ६ गते बिहीबार मनाइनेछ। मङ्सिर २ गते बिहान ७:०४ बजेसम्म मात्र द्वितीया तिथि रहने भएकाले मध्याह्नकालमा टीका लगाउन उपयुक्त मानिएको छ। समितिका अनुसार, ग्रन्थमा प्रयोग भएको “भ्रातृपूजा” शब्दले दाजु र भाइ दुवैलाई जनाउँछ, त्यसैले भाइटीकामा ज्येष्ठताको आधारमा दाजु वा भाइलाई टीका लगाउने परम्परा नै शास्त्रसम्मत हो।

प्रत्येक वर्षझैँ कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारलाई यमपञ्चक भनिन्छ। यस अवधिमा साँझ यमदीप दान गर्ने वैदिक चलन छ, जसले यमयातनाबाट मुक्ति दिलाउने विश्वास गरिन्छ।

त्यसैगरी काग र कुकुरलाई यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने परम्परा पनि छ, जसले यमलोकमा सहयोग पुग्ने धार्मिक मान्यता रहँदै आएको छ। यसरी पाँच दिनसम्म चल्ने तिहार पर्वको मुख्य आकर्षण भाइटीका यस वर्ष पनि पारिवारिक माया, आशीर्वाद र शुभकामनाको बन्धन सुदृढ पार्ने अवसरका रूपमा मनाइनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार