नेतृत्वको यस्तै प्रवृति रहे जनमत पार्टी पतन हुन्छ – मुख्यमन्त्री सिंह

२०८२ आश्विन २८, मंगलवार १५:१६

सर्लाही – मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनमत पार्टी भित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको भन्दै नेतृत्वको यस्तै प्रवृत्ति जारी रहे पार्टी पतनको दिशामा जाने बताएका छन्। पदबाट राजीनामा घोषणा गर्नु अघि प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री सिंहले पार्टीले गरेको असहयोग र आफूविरुद्ध गरिएको व्यवहारप्रति असन्तोष व्यक्त गरे।

‘मसँग एउटा शब्दसमेत सल्लाह नगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइयो, अनि मलाई मन्त्रिपरिषदबाट हटाइएको पत्र सामाजिक सञ्जालमा सर्वत्र फैलाइयो,’ उनले भने, ‘त्यो पत्र नै मेरो चरित्र हत्याको उपकरण बनाइयो।’ सिंहले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेश संसदीय दलका नेताको एकल निर्णय शैलीमाथि पनि असन्तोष जनाए।

उनले पार्टी अध्यक्ष डा. सीके राउतको नामै लिएर आरोप लगाउँदै भने, ‘मैले बजेट निर्माणको समयमा पाँच लाख रुपैयाँसम्मको अनावश्यक शीर्षकहरू हटाउन सुझाव दिएँ, तर उल्टै त्यस्ता बजेट राख्नेहरूलाई नै प्रोत्साहन गरियो।’ मुख्यमन्त्री सिंह भने पार्टीभित्र छलफल र सहकार्यभन्दा व्यक्तिगत स्वार्थ र मनपरी निर्णयले स्थान पाएको छ, जसले जनमत पार्टीको भविष्य नै जोखिममा पार्ने संकेत गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार