सर्लाही – पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको छ । काठमाडौं जिल्ला अदालतले बुधबार सुन तस्करीसम्बन्धी मुद्दामा महरालाई थुनामा पठाउने आदेश दिएको हो।
भेपमार्फत सुन तस्करी गरेको आरोपमा महरा आइतबार (असोज २६ गते) आफ्नै निवासबाट पक्राउ परेका थिए । सोमबार र मंगलबार उनले जिल्ला अदालतमा बयान दिएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार महरामाथि भन्सार छलेर ल्याइएका इलेक्ट्रोनिक सिगरेट (भेप) भित्र लुकेको सुन बेचबिखन गरेर आपराधिक लाभ लिएको आरोप छ । सीआईबीले महरालाई करिब आठ करोड ५५ लाख रुपैयाँ बराबरको सुन कारोबारमा संलग्न रहेको दाबी गरेको छ ।
प्रहरीले दिएको जानकारीअनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको विमानमार्फत नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले दुई सुटकेसभित्र ७३ बट्टामा ७३० थान भेप ल्याएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती भेप जफत भएका थिए । अनुसन्धानका क्रममा सो घटनामा महराको पनि संलग्नता भेटिएको बताइएको छ ।





