नेपाल र ओमान टी-२० विश्वकपमा छनौट

२०८२ आश्विन २९, बुधबार १९:४८

सर्लाही – नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रोपटक टी–२० विश्वकपमा स्थान सुनिश्चित गरेको छ।

बुधबार सम्पन्न आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनल अन्तर्गत सुपर–६ चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले सामोआलाई ७७ रनले पराजित गरेसँगै नेपाल र ओमान दुवै टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा सहभागिता पक्का गरेका हुन् ।

नेपालको यो तेस्रो विश्वकप यात्रा हो । यसअघि नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा आयोजना गरिएको टी–२० विश्वकपमा सहभागिता जनाएको थियो । त्यतिबेला पारस खड्का कप्तान रहेका थिए । त्यसपछि लामो अन्तरालपछि, सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको संस्करणमा नेपालले दोस्रो पटक प्रतिस्पर्धा गरेको थियो ।

त्यो विश्वकपमा नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले सम्हालेका थिए । लगातार प्रदर्शनमा सुधार गर्दै आएको नेपाली टिमले यसपटक पुनः विश्वकपमा स्थान बनाएसँगै इतिहास दोहोर्‍याउने अवसर पाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार