मधेसमा मुख्यमन्त्री सोनल र दुई मन्त्रीले लिए शपथ

२०८२ आश्विन ३०, बिहीबार १४:०३

सर्लाही – मधेस प्रदेशमा नयाँ सरकार गठनसँगै जितेन्द्र प्रसाद सोनार (सोनल)ले बिहीबार मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनकपुरस्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित समारोहमा सोनललाई शपथ गराएकी थिइन्।

मुख्यमन्त्री सोनलसँगै जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का कनिष पटेलले पनि मन्त्री पदको शपथ ग्रहण गरे। गठबन्धनको प्रारम्भिक सहमति अनुसार जसपा नेपालले अर्थसहित चार मन्त्रालय पाउनेछ भने जनमत पार्टीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयसहित चार मन्त्रालय दिइने भएको छ।

त्यस्तै, लोसपा, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई दुई–दुई मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको स्रोतले जनाएको छ। सोनललाई बुधबार प्रदेश प्रमुखले पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनको सरकारलाई जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन प्राप्त छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार