६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छौं – प्रधानमन्त्री कार्की

२०८२ आश्विन ३१, शुक्रबार १६:३७
file image

सर्लाही – प्रधानमन्त्री सुशीला कार्कीले आगामी ६ महिनाभित्र लोकतान्त्रिक रूपमा निर्वाचित सरकारले शासनभार सम्हाल्ने स्पष्ट संकेत दिएकी छन्।

शुक्रबार सिंहदरबारमा आयोजित कूटनीतिक निकायका प्रमुख र विभिन्न देशका राजदूतहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री कार्कीले हालको सरकार अस्थायी प्रकृतिको भएको बताउँदै यसको मुख्य उद्देश्य निष्पक्ष र पारदर्शी निर्वाचन सम्पन्न गर्नु रहेको प्रष्ट पारिन्।

परराष्ट्र मन्त्रालयका अनुसार उनले “जनजी आन्दोलनपछि देश स्थायित्वतर्फ अघि बढ्दैछ, हामी जिम्मेवारीपूर्वक सत्ता निर्वाचित जनप्रतिनिधिलाई सुम्पिनेछौं” भनेकी थिइन्।

प्रधानमन्त्री कार्कीले सरकारको सम्पूर्ण ध्यान अब आसन्न निर्वाचनको तयारीमा केन्द्रित रहेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूलाई समेत भविष्यमा मतदानको अवसर उपलब्ध गराउने दिशामा सरकार अघि बढिरहेको बताइन्।

उनका अनुसार विश्वव्यापी मताधिकारको अभ्यास सम्भव बनाउन बाह्य मतदान प्रणालीको अध्ययन सुरु गरिएको छ। उनले निर्वाचनको पारदर्शिता र विश्वसनीयता कायम राख्न अन्तर्राष्ट्रिय पर्यवेक्षण आवश्यक हुने भन्दै मित्रराष्ट्रहरूको निरन्तर सहयोग र सद्भावका लागि आभार व्यक्त गरिन्।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जनजी आन्दोलनका क्रममा भएका घटनाहरूको सत्य पत्ता लगाउन न्यायिक छानबिन आयोग गठन भइसकेको जानकारी दिइन्। साथै, उनले भ्रष्टाचार नियन्त्रणका विषयमा निष्पक्ष र विश्वसनीय अनुसन्धान प्रारम्भ गर्ने सरकारको प्रतिबद्धता दोहोर्याइन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार