पाकिस्तानी हवाई आक्रमणमा तीन अफगानी क्रिकेट खेलाडीको मृत्यु

२०८२ कार्तिक १, शनिबार ०९:०४

सर्लाही – पाकिस्तानले अफगानिस्तानको पाक्टिका प्रान्तमा गरेको हवाई आक्रमणमा तीन जना अफगानी क्रिकेट खेलाडीको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा कबीर, सिबगतुल्लाह र हारुन रहेका छन्।

अफगानिस्तान क्रिकेट बोर्डले शनिबार प्रकाशित विज्ञप्तिमार्फत सो घटनाप्रति गहिरो शोक व्यक्त गरेको छ। बोर्डले विज्ञप्तिमा पाकिस्तानको हवाई कारबाहीलाई कायरतापूर्ण हमला भन्दै ती खेलाडीहरूको बलिदानलाई श्रद्धाञ्जलि अर्पण गरेको छ।

घटनापछि अफगानिस्तान क्रिकेट बोर्डले पाकिस्तानमा तय भएको त्रिकोणात्मक क्रिकेट श्रृंखलाबाट बाहिरिने घोषणा गरेको छ। एसीबीले एक्स (पूर्व ट्विटर) मार्फत जारी विज्ञप्तिमा भनेको छ, “पाक्टिका प्रान्तको उर्गुन जिल्लामा पाकिस्तानी सेनाद्वारा लक्षित हवाई आक्रमणमा शहादत प्राप्त गरेका हाम्रा बहादुर क्रिकेट खेलाडीहरूको निधनले सम्पूर्ण अफगान क्रिकेट परिवार शोकाकुल बनेको छ।”

स्थानीय प्रशासनका अनुसार उक्त आक्रमणमा खेलाडीहरूसँगै अन्य पाँच जना नागरिकको पनि मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। मृतक खेलाडीहरू केही दिनअघि पाक्टिका प्रान्तको राजधानी शरणामा आयोजित मैत्रीपूर्ण खेलमा सहभागी भएर आफ्नै घर फर्किने क्रममा उर्गुनमा स्थानीय जमघटमा रहेका बेला आक्रमणमा परेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार