सर्लाही – सर्लाहीको धनकौल गाउँपालिका – ३ की ११ वर्षीया सोनी कुमारी साह तीन दिनदेखि बेपत्ता छन्। बिहीबार बिहान लुगा धुन र नुहाउन आमासँग मनुष्मारा खोलामा गएकी सोनी कुमारी नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता भएकी थिइन्।
उनको खोजीका लागि शुक्रबारदेखि सशस्त्र प्रहरी बलको गोताखोर टोली खटिएको थियो। तर लगातार दुई दिनको प्रयासपछि पनि सोनी कुमारीको अवस्था पत्ता लाग्न सकेको छैन। हिजो साँझ अबेरसम्म खोजी जारी रहे पनि कुनै पत्तो नलागेपछि आज बिहानैदेखि पुनः गोताखोर टोलीले खोजी कार्य थालेको थियो।

इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरञ्जन भट्टराईका अनुसार स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा खोजी जारी छ। “दुई दिनसम्म गोताखोर टोलीले खोलाको विभिन्न स्थानमा खोजी गरे पनि केहि पत्ता लाग्न सकेन ,” उनले बताए।
डिएसपी भट्टराईले भोलिदेखि गोताखोर टोलीको उपस्थितिबिना साधारण खोजी कार्य मात्र सञ्चालन गरिने जानकारी दिए। सोनी कुमारीकी आमा जयकुमारी साहका अनुसार आफू सुक्न राखिएको कपडा लिन गएको बेलामा छोरी खोलामा डुबेर हराएकी थिइन्।
स्थानीय र प्रहरीले तत्काल खोजी गरे पनि उनि भेटिएन सकेकी थिइनन् त्यसपछि महोत्तरीको बर्दीवासस्थित सशस्त्र प्रहरी बलका नौ जना गोताखोर टोली बोलाइएको थियो। तर दुई दिन बितिसक्दा पनि सोनी कुमारीको अत्तोपत्तो लागेको छैन। प्रहरीका अनुसार खोजी कार्य अझै निरन्तर जारी रहनेछ।





