
सर्लाही – अबदेखि नेपाली नोटमा नेपाल संवतको मिति पनि अंकित गरिने भएको छ।
शङ्खधर साख्वाः प्रतिष्ठान भक्तपुरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल संवत् ११४६ नयाँ वर्षका अवसरमा यस वर्षदेखि नोटमा नेपाल संवत् उल्लेख गर्ने निर्णय भएको बताए।

उनका अनुसार आगामी कात्तिक ५ गते (बुधबार) प्रधानमन्त्री सुशीला कार्कीले भक्तपुरस्थित शङ्खधर साख्वाःको शालिकमा माल्यार्पण गर्दै उक्त निर्णयको औपचारिक घोषणा गर्ने कार्यक्रम तय गरिएको छ।
अध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीसँग भएको छलफलमा नेपाल संवत् राष्ट्रिय पहिचानको प्रतीक भएकाले यो सम्पूर्ण नेपालीको संवत् भएको विषयमा सहमति भएको बताए। उनले भने, “नेपाल संवत् नेवार समुदायको मात्र नभई सिङ्गो देशको मौलिक संवत् हो, त्यसैले अब यो राष्ट्रिय नोटमा पनि समावेश गरिनेछ।”
प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरले नयाँ वर्षका अवसरमा हुने कार्यक्रमका सबै तयारी पूरा भएको जानकारी दिए। उनले नेपाल संवत्को प्रचार–प्रसार, शङ्खधर साख्वाःको योगदान र विदेशमा समेत शालिक स्थापना गर्ने कार्य निरन्तर भइरहेको उल्लेख गरे।