धनुषामा कांग्रेस सभापतिसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ कार्तिक २, आईतवार १७:०२

सर्लाही – जिल्ला अदालत धनुषाले नेपाली कांग्रेसका जिल्ला सभापति योगेन्द्र पञ्जियारसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अदालतले शुक्रबार ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा उनीहरूलाई पक्राउ गर्न आदेश दिएको हो।

अदालतले सभापति पञ्जियारका छोरा अमर पञ्जियार, क्षिरेश्वरनाथ नगरपालिका–५ का वडाध्यक्ष ६० वर्षीय जिवछ मण्डल, उनका छोरा ४० वर्षीय नवल मण्डल र ३८ वर्षीय कमल मण्डल धानुक, नवलका छोरा २२ वर्षीय नीरज मण्डल, र क्षिरेश्वरनाथ–१ रमदैयाका ३८ वर्षीय उमेश यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ।

उनीहरूविरुद्ध क्षिरेश्वरनाथ – ५ निवासी सुशील कुमार चौधरीले ज्यान मार्ने प्रयासको आरोपसहित जाहेरी दिएका थिए। सो मुद्दामा अदालतले पक्राउ पुर्जी तामेलका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई निर्देशन दिएको हो।

यसअघि सो क्षेत्रमा कांग्रेस र नेकपा (एमाले) निकट समूहबीच भएको झडपपछि दुवै पक्षले एक अर्कामाथि कुटपिट तथा ज्यान मार्ने प्रयासका मुद्दा दर्ता गरेका थिए। एमाले पक्षका नेता अदालतमा उपस्थित भएर बयान दिए पनि कांग्रेस पक्ष उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

यता वडाध्यक्ष जिवछ मण्डलले पनि एमालेका राजदेव चौधरी, सुशीलकुमार चौधरी, अनिल कुमार चौधरी, अनिल यादव र अनित यादवविरुद्ध सोही प्रकृतिको जाहेरी दिएका थिए। ती एमाले नेताहरू भने पहिले नै अदालतमा हाजिर भई बयान प्रक्रिया पूरा गरिसकेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार