सिरहामा धारिलो हतियार प्रहारबाट ४ घाइते, पूर्ववडाध्यक्षसहित ४ जना पक्राउ

२०८२ कार्तिक ३, सोमबार १०:१८

सर्लाही – सिरहामा धारिलो हतियार प्रहारबाट ४ जना घाइते भएका छन्। जिल्लाको मिर्चैया नगरपालिका – ३ स्थित छड्की टोलमा आइतबार साँझ दुई पक्षबीचको विवादले हिंसात्मक रूप लिँदा धारिलो हतियार प्रहारबाट ४ जना घाइते भएका हुन्।

घटनामा स्थानीय ६० वर्षीय शिवनन्दन यादव, उनकी श्रीमती ५७ वर्षीया दुर्गी देवी यादव, ४२ वर्षीय छोरा जमाहिर यादव र ३७ वर्षीया बुहारी रिता यादव घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीमध्ये गम्भीर घाइते रितालाई थप उपचारका लागि जनकपुर रेफर गरिएको छ भने बाँकी तीन जनाको मिर्चैयामै उपचार भइरहेको छ । घाइतेहरूको शरीरका विभिन्न भागमा काटिएका र निलडामका घाउ रहेका छन् ।

घाइतेहरुका अनुसार उनीहरू घरमै बसिरहेको बेला करिब १५–२० जनाको समूह आएर खुकुरी, रड, भाटा जस्ता हतियार प्रयोग गर्दै आक्रमण गरेको थियो ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा मिर्चैया – ३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादव, किशोर धुर्झार यादव, अशोक यादव र जगदीश धुर्झार यादवलाई नियन्त्रणमा लिएको छ । उनीहरू छिमेकी सिसबोनी गाउँका हुन् ।

झडप केही समयघि दुई पक्षका किशोरबीच भएको विवादकै कारण भएको बताईएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार