सर्लाही – हिन्दू धर्मावलम्बीहरूको पर्व दीपावली (लक्ष्मीपूजा) मनाउन जनकपुरधाममा यस वर्ष पनि भव्य तयारी गरिएको छ । ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको आराधनासँगै दीपावली उल्लासपूर्वक मनाउने तयारी पूरा भएको जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ ।
सहरका सडक, बजार र गल्लीहरू बेहुलीझैँ सजाइएका छन् । केराका बोट, हरियो पात, फुलमाला र रंगीन बत्तीहरूले जनकपुरधामका गल्लीहरू झकिझकाउ बनेका छन् । सुनरपट्टी, मिल्स एरिया, मच्छरटोली र जानकी मन्दिर वरपरका क्षेत्रहरूमा विशेष चहलपहल देखिएको छ ।

मिष्ठान भण्डारहरूमा प्रसादका लागि किनमेल गर्नेहरूको भीड लागेको छ भने व्यवसायीहरूले आफ्ना व्यापारिक प्रतिष्ठानहरू आकर्षक रूपमा सजाएका छन् । दीपावली उद्योगी, व्यवसायी र सर्वसाधारण सबैका लागि उल्लासपूर्ण बनेको छ ।
उपमहानगरपालिकाले पनि दीपावलीको पूर्वसन्ध्यामा सहर सरसफाइ अभियान सञ्चालन गरेको थियो । साथै, विद्युतीय पोलहरूमा नयाँ बल्ब जडान गरी राति सहर उज्यालो पार्ने तयारी गरिएको छ । दीपावलीको पावन अवसरमा जनकपुरधाम श्रद्धा, आस्था र झिलिमिली उज्यालोले उज्यालो बनेको छ ।





