सर्लाही – प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनबारे कुनै शंका नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेकी छन्। मंगलबार साँझ बालुवाटारमा दलका शीर्ष प्रतिनिधिहरूसँगको छलफलमा उनले तोकिएकै समयमा भयरहित र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउने सरकारको दृढ प्रतिवद्धता दोहोर्याइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “सरकारले निर्वाचनलाई निर्धारित समयमै सम्पन्न गर्न पूर्ण तयारी गर्दै आएको छ। मन्त्रीहरूदेखि सुरक्षासम्बन्धी निकायसम्म सबै जिम्मेवारीपूर्वक खटिएका छन्।”

छलफलका क्रममा उनले दलहरूसँग संवादमा ढिलाइ भएको कारणबारे पनि स्पष्ट पार्दै भनिन्, “गत केही दिन घाइतेहरूको उपचार, सहिद परिवारका लागि राहत व्यवस्थापन र आन्दोलनकारी पक्षका माग सुन्ने कार्यमा समय खर्चिनुपर्यो। त्यसै कारण संवादमा केही ढिलाइ भयो।”
उनका अनुसार सुरुवाती चरणमा जेनजी युवाहरूले पनि राजनीतिक संवादमा रुचि नदेखाएपछि राष्ट्रपतिबाट संवादको ढोका खोलिएको हो। प्रधानमन्त्रीले जेनजी समूह र राजनीतिक दलहरूबीच अब प्रत्यक्ष छलफल आवश्यक रहेको बताउँदै “अवस्था सामान्यीकरण गर्दै अघि बढ्नु अहिलेको मुख्य जिम्मेवारी हो” भनिन्।
मंगलबार अपरान्ह करिब ४ बजे सुरु भएको उक्त बैठक साँझ पौने ९ बजे सम्पन्न भएको थियो। प्रधानमन्त्रीले अन्त्यमा भनिन्, “जसरी हुन्छ, स्थिति स्थिर गर्दै निर्वाचनमा लागौँ। देशलाई स्थायित्व दिन सबै दलको सहकार्य अपरिहार्य छ। सरकार तपाईंहरूको सुझाव र चासो सम्बोधन गर्न सधैं तयार छ।”





