सर्लाही – सर्लाहीसहित मिथिलाका विभिन्न जिल्लामा आज भैयादुज पर्व हर्षोल्लासका साथ मनाइँदैछ। दीपावली अर्थात् यमपञ्चकको अन्तिम दिन पर्ने कात्तिक शुक्ल द्वितीयामा मनाइने यो पर्व दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, माया र आशीर्वादको प्रतीकका रूपमा चिनिन्छ।
यस वर्ष धनतेरस शनिबार परेको कारण दीपावली पर्व छै दिनसम्म तानिएको छ। शनिबारबाट सुरु भएको दीपावली आज भैयादुजका साथ सम्पन्न हुँदैछ। मिथिला परम्पराअनुसार ‘भातृद्वितीया’ वा ‘भरद्वितीया’ नामले समेत चिनिने यो दिनमा विवाहित दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई घरमा निम्ता गर्छन्।

कतिपय ठाउँमा दिदीबहिनीहरू आफ्नै माइती घर गएर पनि यो पर्व मनाउने चलन रहेको छ। अविवाहित दिदीबहिनी र दाजुभाइले भने एउटै घरमै रहँदै स्नेहपूर्वक पर्व मनाउँछन्। निम्ता स्विकार्दै आउने दाजुभाइहरू नयाँ लुगा, आभूषण र कोसेलीसहित दिदीबहिनीको घर पुग्ने गर्छन्।
घर पुगेपछि दिदीबहिनीहरूले पिठार (अरवा चामलको पिठो) ले अरिपन बनाई त्यसैभित्र पिरामा दाजुभाइ बसाल्छन्। टाढाबाट आएका दाजुभाइको गोडा र कोपरामा तातोपानीले धोएर स्नेहपूर्वक सप्तरङ्गी टीका लगाइन्छ।
पौराणिक कथाअनुसार, सत्ययुगमा राजा बलका दाजु यम र दिदी यमुना बीचको भेटका क्रममा यमुनाले दाजुलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु र कीर्तिको कामना गरेकी थिइन्। त्यसै घटनाको सम्झनामा भैयादुज पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास छ।
मैथिल महिलाहरू दाजुभाइको दीर्घजीवन र बलका लागि गीत गाएर शुभकामना व्यक्त गर्छन्। परम्परागत रूपमा ‘बजरी’ (ओखलमा गोबरसँगै कुटिएको केराउको दाना) दाजुभाइलाई खुवाइन्छ, जसको प्रतीकात्मक अर्थ दाजुभाइको शरीर बज्रसमान सबल होस् भन्ने हो।
‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’ भन्ने लोकभाषाको भनाइ उच्चारण गर्दै दिदीबहिनीहरूले दाजुभाइलाई मिठाई, लड्डु, पेडा र बजरी खुवाउँछन्। त्यसपछि दाजुभाइहरूले दिदीबहिनीलाई नयाँ कपडा, आभूषण वा नगद दक्षिणा कोसेलीका रूपमा अर्पण गर्छन्।
मिष्टान्न भोजनसहित सम्पन्न हुने यो पर्वले मिथिलामा दाजुभाइ र दिदीबहिनीबीचको स्नेह, विश्वास र पारिवारिक सम्बन्धलाई अझ गाढा बनाउने परम्परा जोगाउँदै आएको छ।





