सर्लाही – लोकपर्व छठका अवसरमा सरकारद्वारा दिइँदै आएको एक दिने सार्वजनिक बिदा पर्याप्त नभएको भन्दै मधेसी अधिकृत समाज नेपालले बिदा अवधि बढाउन आग्रह गरेको छ।
समाजका अध्यक्ष भूदेव झाले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई छठ पर्वको सम्पूर्ण अवधिलाई समेटेर बिदा व्यवस्था गर्न ध्यान दिन अनुरोध गरेका छन्।

चार दिनसम्म चल्ने यो पर्वमा व्रतालुहरूले ३६ घण्टासम्म पानीसमेत नखाई कठिन व्रत बस्ने परम्परा रहेको उल्लेख गर्दै, केवल एक दिनको बिदाले व्रतालु, विद्यार्थी तथा कार्यालयका कर्मचारीहरूलाई ठूलो असुविधा पुर्याएको समाजको भनाइ छ।
समाजले छठलाई धार्मिक आस्था, अनुशासन र सामाजिक एकताको अद्वितीय प्रतीकका रूपमा सम्मान गर्नुपर्ने भन्दै, बिदा सीमित गर्नु आस्थामाथि अपमान सरह भएको टिप्पणी गरेको छ।
साथै, छठ पर्वको सांस्कृतिक समावेशिता र राष्ट्रिय एकताको भावनालाई कायम राख्न सरकारलाई बिदाको अवधि पुनर्विचार गर्न आग्रह गरिएको छ। 





