सर्लाही – भारतको आन्ध्र प्रदेशस्थित कुर्नूल जिल्लामा शुक्रबार बिहान एक यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटना कुर्नूलको चिन्ना टेकुरु गाउँ नजिकै बिहान सबेरै भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हैदराबादबाट बेंगलुरु जाँदै गरेको उक्त बसमा करिब ४२ जना यात्रु सवार थिए । आगलागीबाट बस पूर्ण रूपमा जलेर नष्ट भएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार एक मोटरसाइकल बससँग ठोक्किएपछि पेट्रोल ट्याङ्कीमा आगो सल्किएको बताइएको छ । त्यसपछि आगो तीव्र गतिमा फैलिँदा यात्रुहरूलाई निस्कन नपाई बसभित्रै फँसेका थिए ।
स्थानीय प्रहरीका अनुसार सर्ट सर्किटका कारण बसको ढोका अड्किएपछि उद्धार कार्यमा कठिनाइ भएको थियो । बाँचेका यात्रुहरू अधिकांश २५ देखि ३५ वर्ष उमेर समूहका रहेका छन् ।
प्रहरी र दमकल टोलीले घटनास्थल पुगेर आगो नियन्त्रणमा ल्याएको छ र विस्तृत अनुसन्धान सुरु गरिएको छ।





