सर्लाही – मधेस प्रदेश सरकारले आगामी छठ पर्वको अवसरमा सार्वजनिक बिदा एक दिनले बढाउने निर्णय गरेको छ। प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा कार्तिक ११ गते मंगलबार पनि सार्वजनिक बिदा हुने उल्लेख गरिएको छ।
उपसचिव गणेश नायकद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिअनुसार यो निर्णय सन् २०८१ चैत २२ गते प्रकाशित ‘प्रदेश राजपत्र’मा समावेश २०८२ सालका बिदा सम्बन्धी सूचनाको आधारमा गरिएको हो।

छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने परम्पराअनुसार दुई दिनको बिदा दिनुपर्ने जनताको माग बढ्दै आएको थियो। सोही मागलाई आंशिक सम्बोधन गर्दै सरकारले मंगलबारको दिनलाई पनि सार्वजनिक बिदा घोषणा गरेको हो।
यससँगै प्रदेशभरका सरकारी कार्यालय, विद्यालय तथा विभिन्न निकाय मंगलबार बन्द रहनेछन्। छठ पर्व मिथिला क्षेत्रका हिन्दू धर्मावलम्बी महिलाहरूले सूर्यदेव र छठ मइयाको आराधना गर्दै विशेष उल्लासका साथ मनाउने प्रमुख सांस्कृतिक पर्व हो।






