रौतहट – रौतहटको गरुडा नगरपालिका मेयर कप २०८२ अन्तर्गत वार्ड नं. ९ र वार्ड नं. ३ बीच भएको खेल अहिले विवादको केन्द्रमा पुगेको छ।
खेलको क्रममा अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै वार्ड नं. ३ का खेलाडीहरूले खेल रोकेर अन्ततः मैदान छोडेका थिए। अम्पायरले तोकेको समयसीमा भित्र खेल पुनः सुरु नगरेकाले, खेल नियम अनुसार वार्ड नं. ९ को पक्षमा स्वीकार गरिएको हार हुने स्थिति स्पष्ट थियो।

तर खेलको नतिजा तत्काल घोषणा नगरी आयोजक समितिले अन्य समूहका खेलहरू अगाडि बढाएको थियो। अब भने आयोजकले सो रोकिएको खेल पुनः खेलाउने तयारी गरिरहेको र त्यसकै कारण प्रतियोगिताभर नै विवाद उत्पन्न भएको छ। वार्ड नं. ९ क्रिकेट टिमका प्रतिनिधिहरूले आयोजकको कदमप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, “अम्पायरको अन्तिम निर्णयपछि खेल स्वतः समाप्त भइसकेको छ।
अहिले आएर पुनः खेल गराउन खोज्नु पूर्ण रूपमा अन्यायपूर्ण र नियमविपरीत छ। यसरी खेलको निष्पक्षता र खेल Spirit माथि नै प्रहार गरिएको छ।” उनीहरूले चेतावनी दिँदै थपे, “यदि आयोजकले दबाबमा आएर नियम उल्लंघन गर्ने निर्णय गरे, हामी रौतहट जिल्ला क्रिकेट संघ र सम्बन्धित निकायहरूमा औपचारिक उजुरी दर्ता गर्नेछौं।”
उता, आयोजक समितिका केही सदस्यहरूले भने खेलमैत्री वातावरण कायम गर्न दुवै पक्षबीच सहमति जुटाई खेल पुनः सञ्चालन गर्न सकिने बताउँदै छन्। उनीहरूका अनुसार विवाद समाधानका लागि वार्ता र समन्वयको प्रयास भइरहेको छ।
त्यसैगरी, वार्ड नं. ३ का खेलाडीहरूले अम्पायरको निर्णयलाई अन्यायपूर्ण ठहर गर्दै पुनः खेल मात्रै न्यायसंगत विकल्प भएको दाबी गरेका छन्। उनीहरूका अनुसार खेल रोकिनु अम्पायरको कमजोरीका कारण भएको हो, जसको जिम्मेवारी आफूहरूमा मात्रै थोपारिनु गलत हो।





