मिथिलामा छठ पर्व विधिवतरुपमा सुरु, आज ‘नहाय-खाय’

२०८२ कार्तिक ८, शनिबार ०६:५६

सर्लाही – मानव सभ्यताको जडसँग जोडिएको, प्रकृतिप्रति कृतज्ञता र सूर्य देवताको आराधनामा आधारित छठ पर्वको मुख्य विधि आजदेखि प्रारम्भ भएको छ। ‘नहाय-खाय’ भनिने आजको दिनलाई पर्वको पहिलो चरणका रूपमा लिइन्छ, जसमा व्रतीहरूले शुद्ध भोजन ग्रहण गरी व्रत आरम्भ गर्छन्।

चार दिनसम्म चल्ने यो पर्वको दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। संसारका पर्वहरूमध्ये यो एक मात्र पर्व हो जहाँ अस्ताउँदो र उदाउँदो सूर्य दुबैको पूजा गरिन्छ, यो परम्परा मानव र प्रकृतिबीचको गहिरो सम्बन्धको प्रतीक हो।

छठ पर्वले सूर्य र जललाई जीवनका आधार तत्त्वका रूपमा स्वीकार्दै मानव, प्रकृति, समय र सृष्टिप्रति आस्था र समर्पणको सन्देश दिन्छ। यस पर्वमा आत्मसंयम, शुद्धता र श्रद्धा प्रमुख मानिन्छ। पहिलो दिन व्रतीहरूले माछामासु, लसुन, प्याजजस्ता तामसिक वस्तु त्याग गरेर केवल शुद्ध अन्न ग्रहण गर्छन्। दोस्रो दिन खरनामा निर्जला व्रत बसेर बेलुकी चन्द्रमालाई खीर अर्पण गरी प्रसाद ग्रहण गर्ने चलन छ।

यसपछि व्रत पूर्ण रूपमा पालना गर्न थालिन्छ। तेस्रो दिन, षष्ठी तिथिमा, व्रतीहरूले घरमा तयार पारिएका प्रसाद ठकुवा, भुसुवा, खजुरी, फलफूल, मुला, गाजर, बेसारका गाँठा, ज्यामिर, नरिवल, केरा आदि नाङ्गलोमा राखेर गीतसंगीतसहित नदी वा तलाउको किनारमा पुग्छन्।

पूजा स्थालमा पाँचपटक साष्टाङ्ग दण्डवत् गरी अस्ताउँदो सूर्यलाई जल अर्पण गरिन्छ। चौथो दिन बिहान पुनः त्यही विधि दोहोर्याइन्छ, यसपटक उदाउँदो सूर्यलाई अर्घ्य दिई व्रत सम्पन्न गरिन्छ। त्यसपछि सूर्य पुराण श्रवण र छठ कथा वाचन गर्ने परम्परा रहिआएको छ।

वैदिक युगदेखि नै सूर्यलाई जीवनदायी शक्ति र रोगनाशक देवताका रूपमा पूजा गरिँदै आएको छ। ऋग्वेददेखि महाभारत र उपनिषद्हरूसम्म सूर्यलाई सृष्टिका मूल शक्ति, प्रकाश र स्वास्थ्यका स्रोतका रूपमा वर्णन गरिएको छ। चिकित्साशास्त्रमा पनि सूर्यकिरणबाट रोगहरूको उपचार हुने विश्वास पाइन्छ।

संस्कृतिविद्हरूका अनुसार साम्बपुराणमा कृष्णपुत्र साम्बले सूर्य आराधनाबाट कुष्ठरोगमुक्त भएको कथा उल्लेख छ, जसले सूर्यपूजाको धार्मिक वैज्ञानिक दुवै पक्षलाई बल दिएको देखाउँछ।

छठ व्रतलाई कठिन तर अत्यन्त पवित्र व्रत मानिन्छ। यो पर्व ‘षष्ठी’ तिथिसँग सम्बन्धित भएकाले ‘छठ’ नामले परिचित भएको हो। यस पर्वमा स्त्री पुरुष दुवै मिलेर सूर्य र छठी माताको पूजा गर्छन, सृष्टिको पुरुष र प्रकृतिको स्त्री पक्ष दुवैलाई सम्मान गर्ने सन्देश यो पर्वमा निहित छ।

पहिले मिथिलाञ्चलमा सीमित रहेको छठ पर्व अहिले देशभर फैलिएको छ। काठमाडौंसहित पहाडी क्षेत्र र विदेशमा समेत यस पर्वको आकर्षण बढ्दै गएको छ। छठमा जात, धर्म, धन, गरिबीको भेद हुँदैन, सबै ब्रतालु एउटै घाटमा उभिएर सूर्यलाई अर्घ्य दिन्छन्। यसैले छठ केवल धार्मिक पर्व होइन, सामाजिक एकता र सहिष्णुताको सशक्त प्रतीक पनि हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार