सर्लाही – सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालका प्रमुख डा. संजीव कुमार सिंह यही कार्तिक १७ गते अवकाशमा जान लागेका छन्। तर, उनको अवकाशअघि नै अस्पतालका लाखौं मूल्यका सरकारी सामग्रीहरू व्यक्तिगत प्रयोजनका लागि सारिएको खुलासा भएको छ।
अस्पताल स्रोतका अनुसार डा. सिंहले गत शुक्रबार र शनिबार अस्पताल परिसरमा रहेका पलंग, दराज, डस्ना, पंखा, कुलरलगायतका सामग्रीहरू अस्पतालको आधिकारिक गाडी प्रयोग गरी बिरगञ्जस्थित आफ्नै निवासमा पठाएका छन्। सामग्री पठाउने क्रममा केही कर्मचारी र स्थानीय व्यापारी पनि संलग्न रहेको आशंका गरिएको छ।

साक्षीका रूपमा रहेका अस्पतालका केही कर्मचारीहरूले ती सामग्रीहरू सरकारी सम्पत्ति भएको र त्यसलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्न खोजिएको आरोप लगाएका छन्। उनीहरूले अवकाशपूर्व नै सरकारी सम्पत्तिको दुरुपयोग गरेर अस्पतालको साखमा धक्का पुगोस् भन्ने मनसायले यस्तो कार्य गरिएको बताए।
घटनापछि अस्पतालभित्रै असन्तुष्टि र आक्रोश बढेको छ। अन्य चिकित्सक र कर्मचारीहरूले तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूको भनाइमा, “अस्पतालका नाममा खरिद भएका वस्तुहरू निजी निवासमा लैजानु सरकारी सम्पत्तिको खुला दुरुपयोग हो, जसले सार्वजनिक सेवाप्रति अविश्वास बढाउँछ।”
स्थानीय स्रोतका अनुसार, डा. सिंहको कार्यकालभर नै अस्पतालमा विभिन्न अनियमितता र विवादका विषय बारम्बार उठ्दै आएका थिए। अवकाशअघि नै सरकारी सामग्री बाहिरिएको घटनाले अस्पताल प्रशासनको पारदर्शितामाथि थप प्रश्न उठाएको छ।
यस विषयमा डा. सिंहसँग सम्पर्क गर्न प्रयास गरिए पनि प्रतिक्रिया प्राप्त हुन सकेको छैन। यता, स्वास्थ्य कार्यालय मधेस प्रदेश र अस्पताल प्रशासनले घटनाबारे प्रारम्भिक जानकारी संकलन भइरहेको र आवश्यक परे छानबिन समिति गठन गरिने संकेत गरेका छन्।





