चन्द्रनगरको कामदमा युवाहरुद्वारा मुल सडक र भित्रि सडकको सरसफाई

२०८२ कार्तिक ८, शनिबार १५:१५

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिका – ६, कामदका युवाहरुले छठ पर्वको अवसर पारेर सरसफाइ गरेको छ ।

छठ पर्वको पहिलो दिन ‘नहाय-खाय’को शुभ अवसरमा स्थानीय युवाहरुको पहलमा कामद गाउँका मुख्य सडकदेखि भित्रि गल्लीसम्म करिब १५ सय मिटर क्षेत्रमा सरसफाइ गरिएको हो । उनीहरुले झाडू लगाएर, ढुंगा, माटो हटाएर र सडकमा जमेको फोहोर सङ्कलन गरी नजिकैको स्थानमा व्यवस्थापन गरेका छन्।

मानव सभ्यताको जडसँग जोडिएको, प्रकृतिप्रतिको कृतज्ञता र सूर्य देवताको आराधनामा आधारित छठ पर्वलाई स्वच्छ वातावरणमा मनाउनका लागि यो अभियान सञ्चालन गरिएको स्थानीय युवा धर्वेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार “ब्रतालु महिला पुरुषहरुले सूर्य भगवानको आराधना गर्ने घाटसम्म पुग्ने बाटो सहज र स्वच्छ बनाउनका लागि हामीले युवाहरुको टोली बनाएर सडक सफा गरेका हौं ।”

कामदका बासिन्दाले युवाहरुको यो कदमले गाउँ सफा र आकर्षक बनेको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरुका अनुसार यस्तो सामूहिक पहलले गाउँमा सरसफाइको संस्कार बसाउने र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रेरणा दिएको छ ।

छठ पर्व नजिकिँदै गर्दा सर्लाहीका विभिन्न गाउँ टोलमा पनि घाट सफाइ, सडक मर्मत र सजावटका काम सुरु भएका छन् । कामदको उदाहरणले अन्य स्थानका युवाहरुलाई पनि सामाजिक उत्तरदायित्वबोधका साथ सामूहिक रुपमा सक्रिय हुन प्रेरित गर्ने साहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार