छठ पर्वअन्तर्गत पहिलो दिन ‘नहाय – खाय’ विधि सम्पन्न

२०८२ कार्तिक ८, शनिबार २०:००

सर्लाही – मिथिलाञ्चलसहित सम्पूर्ण तराई मधेस क्षेत्रमा आज शनिबारदेखि सुरु भएको चारदिने छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि धार्मिक श्रद्धा र उल्लासका साथ सम्पन्न भएको छ।

मिथिलाका पोखरी, धारो र नदीघाटहरूमा बिहानैदेखि व्रतालु महिलाहरूले सूर्यदेवको आराधना गर्दै स्नान गरी पवित्र नहाय–खाय विधि सम्पन्न गरेका हुन्। शुद्धतापूर्वक स्नानपछि व्रतालुले अरवा चामल र लौकाको तरकारीको प्रसाद ग्रहण गरी आगामी चार दिनको कठिन व्रतको आरम्भ गर्छन्।

छठ पर्वको चार चरणमध्ये आजको नहाय–खायपछि भोलि खरना, त्यसपछिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्ने र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व समापन गर्ने परम्परा रहँदै आएको छ।

जनकपुरधामलगायत मधेसका विभिन्न क्षेत्रमा छठ पर्वलाई भव्य रूपमा मनाउन तयारी अन्तिम चरणमा पुगेको छ। पोखरी तथा घाटहरूको सरसफाइ, सजावट र सुरक्षाको काम तीव्र गतिमा भइरहेको छ।

यसैबीच, बजारमा पूजा सामग्री किनमेल गर्नेको भीड बाक्लिएको छ। केरा, नरिवल, नवैध, ठेकुवा, भुसवा र अन्य प्रसादी सामग्री किन्न व्रतालुहरू भीडभाडका बीच तयारीमा व्यस्त देखिएका छन्।

यो पर्वलाई सूर्यदेव र प्रकृतिप्रतिको कृतज्ञताको प्रतीकका रूपमा मिथिलाका बासिन्दाले अत्यन्तै श्रद्धा र भक्ति भावले मनाउने परम्परा रहँदै आएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार