छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

२०८२ कार्तिक ९, आईतवार ०६:५५

सर्लाही – सूर्य उपासनाको महापर्व छठको आज दोस्रो दिन ब्रतालुहरु ‘खरना’ विधिको तयारीमा गर्दैछन् ।

शनिबार ‘नहाय–खाय’ विधिबाट पर्व प्रारम्भ गरेका व्रतालु आज पञ्चमी तिथिमा खरनाको तयारीमा व्यस्त छन् । पौराणिक परम्परा अनुसार व्रतालुले बिहान सबेरै पवित्र स्नान गरी दिनभरि निराहार उपवास बस्छन् ।

बेलुका चन्द्र दर्शनपछि सक्खर, दूध र चामल मिसाएर पकाइएको खिर छठी मातालाई चढाइन्छ र त्यसलाई प्रसादस्वरूप ग्रहण गरिन्छ । यही विधिलाई मिथिला क्षेत्रमा ‘खरना’ भनिन्छ, जसलाई आत्मसंयम, स्वधर्म र पापमोचनको प्रतीकका रूपमा लिइन्छ ।

छठ पर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चतुर्थीका दिन व्रतालुले आत्मशुद्धिको भावले उसिना चामल, लसुन प्याज, कोदो, मुसुरो आदि अशुद्ध मानिएका परिकारहरू त्यागेर ‘नहाय–खाय’ विधि पूरा गर्छन् । मैथिली भाषामा यसलाई ‘अर्बा–अर्बाइन’ पनि भनिन्छ, जुन नहाय–खायसँगै सम्पन्न हुने अर्को पवित्र चरण हो ।

आजको खरनामा माटाको नयाँ चुल्होमा पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई अर्पण गरिन्छ । त्यसपछि व्रतालु र परिवारका सदस्यले प्रसादका रूपमा ग्रहण गर्छन् । यस दिन उपवास बस्नेहरूले सूर्यास्तपछि चन्द्र दर्शन गरी विधि सम्पन्न गर्छन् ।

भोलि कात्तिक शुक्ल षष्ठीका दिन छठको मुख्य विधि सम्पन्न हुनेछ । व्रतालुहरू दिनभर निराहार रहेर साँझ अस्ताउँदो सूर्यलाई जलाशय घाटमा पुगेर पहिलो अर्घ्य दिनेछन् । मिथिलामा यसलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।

त्यसपछि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिई पर्व समापन गरिन्छ, जसलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । खरना सम्पन्न भएपछि व्रतालुले यो निराहार व्रत निरन्तर राखी सप्तमीको बिहान सूर्यलाई अर्घ्य दिएर मात्र तोड्ने गर्छन् ।

छठ पर्वमा ठकुवा, भुसुवा लगायतका परम्परागत मिष्टान्न घरमै तयार गरिन्छन् । यी परिकार ढिकी जाँतोमा पिसिएको पिठोबाट बनाइने परम्परा अझै कायम छ । अर्घ्य दिने घाटहरूमा सरसफाइ र सजावटलाई विशेष प्राथमिकता दिइन्छ ।

पहिले केवल मधेसी समुदायमा सीमित यो पर्व अहिले देशभरका हिन्दूहरू र अन्य धर्मावलम्बीहरूले समेत श्रद्धा र उल्लासका साथ मनाउन थालेका छन् । यसरी छठ आज सम्पूर्ण नेपाली समाजको साझा सांस्कृतिक उत्सवका रूपमा फैलिँदै गएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार