गफ गर्दिनँ, काम गरेर देखाउछु – नवनियुक्त खेलकुदमन्त्री गुप्ता

२०८२ कार्तिक ९, आईतवार १८:१८

सर्लाही – नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताएका हुन् । विगतमा मन्त्रीहरूले काम गर्नेभन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने संकल्प लिएको उनको भनाइ छ ।

“हामीसँग सर्ट टाइम छ । रिसोर्सेस पनि थोरै नै छ । काम गर्नुपर्ने धेरै छ । डेलिभरी गर्नुपर्ने धेरै छ । त्यसो भएकाले हामी कामैतर्फ लाग्छौँ । हामीलाई काम गर्न दिनुहोला । हामी के काम हुन्छ, त्यसलाई डेली प्रस्तुत गर्नेछौँ । बोलेरभन्दा पनि पहिला कामै गरेर देखाउने हो । बोलेर नै यो सबै कुरा बिग्रेको हो नि,” उनले भने ।

यस्तै, मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै युवा तथा खेलकुद मन्त्रालय मातहत हुने सम्पूर्ण बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। त्यसलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुप्ताले आफूले मन्त्रालयका कर्मचारीसँग बसेर कार्ययोजना बनाएर काम गर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार