सर्लाहीको चमेलीमाई मन्दिरमा व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको आरोप, छानबिन गर्न माग

२०८२ कार्तिक ९, आईतवार २०:५४

मलंगवा – सर्लाहीको चर्चित शक्तिपीठ चमेलीमाई मन्दिरमा आर्थिक अनियमितता र घोटाला भएको आरोप लगाउँदै स्थानीय युवाहरुले छानबिनको माग गरेका छन्।

आज (आइतबार) मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै युवाहरुले मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले मन्दिरको आम्दानी पारदर्शी रूपमा सार्वजनिक नगरेको र समितिको रकम व्यक्तिगत खातामा राख्ने गरेको आरोप लगाएका हुन्।

स्थानीय युवा दिपक कुमार यादवले व्यवस्थापन समितिका पदाधिकारीहरूले मन्दिरको आय–व्ययको वार्षिक हिसाब सार्वजनिक नगर्ने, पारदर्शिता नअपनाउने र आम्दानीको रकम व्यक्तिगत खातामा राख्ने गरेको बताए। अन्य युवाहरूले पनि समितिभित्र मनोमानी र एकछत्र चलखेल रहेको आरोप लगाउँदै सम्पूर्ण आर्थिक गतिविधिको छानबिन गर्न माग गरे।

मन्दिरका पुजारी जयबिर झाका अनुसार “दक्षिणा मन्दिरमै जम्मा गर्ने र पछि बैंकमा राख्ने गरिन्छ, तर त्यसको लेखाजोखा स्पष्ट छैन,” भने। सोही क्रममा रसिद काट्ने व्यक्तिले भने, मन्दिरको केही रकम आफूले नै राखेको भए पनि “सबै पदाधिकारीको बैठकपछि पारदर्शी हिसाब प्रस्तुत गर्ने” बताए।

स्थानीयहरूका अनुसार जिल्लाको प्रसिद्ध धार्मिक स्थल चमेलीमाई मन्दिरको सरसफाइ र भौतिक सुधारमा समेत व्यवस्थापन समितिले ध्यान नदिएको गुनासो छ। मन्दिर वरिपरि फोहोरको समस्या, सौचालयको अभाव र सजावटमा बेवास्ता भएको उनीहरूको आरोप छ।

युवाहरुले भने, “मन्दिरको भित्तामा उल्लेखित दक्षिणा दरभन्दा बढी रकम लिनु, रसिद दिनु र रकमको उपयोगबारे जनतामा कुनै जानकारी नदिनु दुरुपयोगको स्पष्ट संकेत हो,” भन्दै तत्काल निष्पक्ष छानबिन र लेखाजोखा सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार