सर्लाही – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा थप उपचारका लागि सोमबार राति सिंगापुर प्रस्थान गरेका छन्। देउवा दम्पतीलाई सिंगापुरस्थित माउन्ट एलिजाबेथ अस्पतालमा विशेष चिकित्सक टोलीले उपचार गर्ने बताइएको छ।
उनीहरू राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका हुन्। भदौ २४ गते जेनजी आन्दोलन का क्रममा प्रदर्शनकारी समूहले देउवा र उनकी पत्नी आरजु राणामाथि बूढानीलकण्ठस्थित निवासमै आक्रमण गरी कुटपिट गरेको थियो।

सो क्रममा देउवाको शरीरका विभिन्न भागमा चोट लागेको र विशेष गरी गर्दनमा गम्भीर चोटका कारण १२ टाँका लगाउनुपरेको थियो। आक्रमणपछि देउवा दम्पती करिब एक महिना छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचाररत रहेका थिए।
स्वास्थ्यमा सुधार आए पनि चिकित्सकको सल्लाहअनुसार थप परीक्षण र उपचारका लागि उनीहरू सिंगापुर गएका हुन्। कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यसम्पादन समिति बैठकमा देउवाको स्वास्थ्य स्थिति र सिंगापुर उपचारबारे जानकारी दिएका थिए।
भदौको घटनापछि पहिलोपटक असोज २८ गते मात्र देउवा सार्वजनिक रूपमा देखिएका थिए।





