सर्लाही – उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै आस्थाको महान पर्व छठ विधिवत रूपमा सम्पन्न भएको छ। शनिबारदेखि सुरु भएको चारदिने यो पर्व मंगलमय वातावरणमा आज बिहान समाप्त भएको हो।
व्रतालुहरूले सोमबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि करिब ३२ घण्टा लामो निर्जला उपवास पूरा गर्दै आज बिहान उदाउँदो सूर्यलाई ‘भोरका अरख’ दिए। धार्मिक परम्पराअनुसार छठमा उदाउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई ‘भोरका अरख’ भनिन्छ, जसले व्रतको समापन जनाउँछ।

सूर्य अर्घ्य सम्पन्न गरेपछि व्रतालु तथा श्रद्धालुहरू छठ घाटबाट आफ्ना पूजा सामग्री र प्रसाद बोकेर घर फर्किएका छन्। त्यसपछि परिवार र नातेदारसँग प्रसाद ग्रहण गर्ने र छिमेकीलाई बाँड्ने चलन अनुसार पर्वको समापन हुने गर्छ।
जनकपुरधामसहित धनुषा जिल्लामा यस वर्ष पनि छठ पर्व विशेष उल्लासका साथ मनाइयो। जनकपुरका प्रमुख सरोवरहरूमा भक्तजन र तीर्थयात्रीहरूको घुइँचो लागेको थियो। गृहमन्त्री ओम प्रकाश अर्यालसहितको टोलीले जनकपुरको ऐतिहासिक गंगासागर सरोवरमा पुगेर छठ अर्घ्यमा सहभागी भएर पूजाआर्चना गरेका थिए।





