बंगालको खाडीबाट दुई दिनभित्र चक्रवात नेपाल प्रवेश गर्दै, मधेसमा भारी वर्षाको चेतावनी

२०८२ कार्तिक ११, मंगलवार १७:३३

सर्लाही – बंगालको खाडीमा विकसित समुद्री चक्रवात ‘मोन्था’ आगामी दुई दिनभित्र नेपाल प्रवेश गर्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार यसको प्रभाव विशेषगरी कोशी प्रदेश र मधेसमा भारी वर्षा हुने सम्भावना रहेको छ र नागरिकहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

हाल भारतको विशाखापटनम क्षेत्रमा रहेको मोन्था क्रमशः भारतको भू–भाग पार गर्दै नेपालतर्फ बढ्दैछ। बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार, यसको प्रभाव कात्तिक १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार दिउँसोसम्म रहने अनुमान गरिएको छ।

समुद्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प ल्याएकोले नेपालको कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना छ। साथै बागमती र कोशीजस्ता हिमाली क्षेत्रहरूमा भारी हिमपात हुन सक्ने र पर्वतारोहण तथा दैनिक जीवन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

ठूला नदीहरूको जल सतह बढ्न सक्ने भए पनि बाढीको उच्च जोखिम कम रहेको भए पनि नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन विभागले आग्रह गरेको छ। मधेस र कोशीका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने साना खोला नालाहरूमा आकस्मिक र तीव्र बहावको सम्भावना रहेको हुँदा उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ।

विभूति पोखरेल, जल तथा मौसम विभागका प्रवक्ताका अनुसार, पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले मंगलबार बदली देखिएको थियो। बुधबारदेखि मौसममा सुधार आउने भए पनि, बिहीबारबाट चक्रवात मोन्थाको सक्रियताले फेरि मौसमलाई प्रभावित पार्ने छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार